विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले बुधबार “स्थानीय बैंकसँग निजी क्षेत्र” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बैंक र निजी क्षेत्रबीच सामञ्जस्यता बढाउन र दुवै पक्षबीत एकअर्कालाई बुझ्ने क्रममा भएका कमजोरी हटाउन कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका साथै वाणिज्य सचिव विप्लव ढकाल तथा अन्य उद्योगी, व्यवसायीले आर्थिक मन्दीका कारण उत्पन्न समस्या न्यूनीकरणमा बैंकले चासो नदिएको तथा बैंकको ध्यान ऋण असुली र धितो लिलाममा मात्रै भएको आरोप लगाउनुभएको थियो ।
ऋणीहरुको किस्ता समयावधि लम्ब्याउन, ऋणका शीर्षक समायोजन गर्न, ऋणीको ऋण तिर्ने वातावरणमा सहजीकरण गर्न, ऋणीको व्यावसायको प्रकृति अवस्था हेरेर थप ऋण प्रदान गर्न, कहिलेकाहीँ ऋणीसँग चियागफ गर्न ऋणीको व्यवसायस्थलमा जान, धितो लिलामीमा लानुपूर्व ऋणीसँग सहकार्य गर्न व्यवसायीले अनुरोध गरेका थिए ।
उता, बैंकरहरुले भने आफूमाथिलाई बिनाआधार लाञ्छना लाग्ने गरेको बताए । व्यवसायीका अधिकांश माग बैंकहरुले पूरा गर्ने गरेको बताउँदै ऋणीसँग चिया गफ गर्न जाँदा ऋणीले नराम्रो तरिकाले हेर्ने गरेको बताए । मेरो व्यवसायमा समस्या आएको बुझेर निरीक्षण गर्न आएको भनी बैंकरलाई व्यवसायीले नकारात्मक तरिकाले सोच्ने गरेको बताए । धितो लिलामीमा लाने प्रक्रिया झण्झटिलो र खर्चिलो भएकाले किस्ता अवधि बढाउन र अन्य छलफल गरी समस्या समाधान गर्न बैंकर तयार हुने गरेको तथा अन्तिम विकल्पको रुपमा मात्रै धितो लिलामीमा जाने गरेको बैंकरहरुले बताए ।
कार्यक्रममा सुन्दरहरैंचामा शाखा कार्यालय वा प्रादेशि कार्यालय राखेर सञ्चालित विकास बैंक, बैंक र फाइनान्सका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी, व्यापारी र सञ्चारकर्मीको उपस्थिति थियो ।