विराटचोकः आर्थिक वर्ष २०८१÷८२ को बजेट सुनेर अन्तरक्रिया गर्ने कार्यक्रम सुन्दरहरैंचाको विराटचोकमा शुरु भएको छ । संघीय सरकारले हिजो सदनमा प्रस्तुत गरेको बजेट भाषण सँगै बसेर सुनेर अन्तरक्रिया गर्ने कार्यक्रमको पहिलो अभ्यास विराटचोकमा शुरु भएको हो ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, सुकुना बहुमुखी क्याम्पस र इन्द्रपुर जेसीजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३० जनाभन्दा बढी सहभागी भएका थिए ।
बजेट सुनेर अन्तरक्रिया गर्ने कार्यक्रम भनिए पनि सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारी र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले मात्रै बजेटमा प्रतिक्रिया दिनुभएको थियो । नौलो अभ्यास शुरु भएकोमा सहभागीले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।
बजेटका धेरै विषय स्वागतयोग्य भएको संघले जनाएको छ । संघका अध्यक्ष नारायण कार्कीका अनुसार बजेटमा समावेश निम्न विषय स्वागतयोग्य छन्ः
कृषि क्षेत्र लाई उच्च प्राथमिकतामा राख्नु,
१अर्बको स्टाटअफ नवप्रवर्तन कोषको स्थापना गर्नु,
औद्योगिक विकास तथा उद्यमशीलता विकासका लागि ६ अर्ब ५५ करोडको कोष स्थापन हुनु,
स्थानीय मदिरालाई कानुनी मान्यता प्रदान गर्ने व्यवस्था मिलाउने उद्घोष गरिनु,
गाँजालाई औषधीय प्रयोजनका लागि वैधानिकता दिने नीति लिनु ।
आर्थिक मन्दीलाई हटाई आर्थिक क्षेत्र चलायमान बनाउन घरजग्गा तथा शेयर बजारप्रति मौन रहनु बजेटको कमजोर पक्ष रहेको संघले जनाएको छ ।
सुन्दरहरैंचा १० स्थित प्लानेट लाउञ्जमा भएको कार्यक्रममा उद्योगी, व्यवसायी, आयोजक संस्थाका प्रतिनिधि, कृषि, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
सम्बन्धित समाचारः
सुन्दरहरैंचामा नौलो प्रयास, प्रत्यक्ष बजेट भाषण सुनी प्रतिक्रिया दिने सामुहिक अभ्यास