गोठगाउँः नेपाल तेक्वान्दो संघ सुन्दरहरैंचाको आयोजनामा भएको मोरङ जिल्लास्तरीय अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा तीनपैनी डोजाङ पहिलो भएको छ ।
२४ टिम सहभागी भएको खेलमा ५ स्वर्ण र २ कास्यसहित तीनपैनी पहिलो हुँदा ४ स्वर्ण र २ कास्यसहित भाउन्ने डोजाङ दोस्रो भएको छ । २ स्वर्ण, ३ रजत र ४ कास्यसहित पञ्चायत डोजाङ तेस्रो भएको छ ।
पञ्चायत माविको प्राङ्गण सुन्दरहरैंचा ७ गोठगाउँमा भएको प्रतियोगितामा मोरङका प्रत्येक डोजाङबाट ९ खेलाडीले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गरेका थिए । हरेक टिमका १ पुरुष र १ महिला खेलाडीले पुम्सेतर्फ प्रतिष्पर्धा गरेका थिए । विजयी खेलाडीलाई प्रमाणपत्र र मेडल तथा विजयी टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका लागि १४ जना रेफ्री र २ जुरीको व्यवस्था गरिएको थियो । सुन्दरहरैंचा नगरपालिकाको नगर खेलकुद विकास समिति प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको थियो । सह प्रायोजकमा ऋद्धिसिद्धि सिमेण्ट, सरस्वती आर्टस्, लायन्स क्लब अफ गछिया, मोरङ ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका साथै विभिन्न संघसंस्था रहेका थिए ।
।
बेस्ट फाइटर १ जना महिला र १ जना पुरुषलाई पनि प्रतियोगितामा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको थियो ।