विराटचोकः आर्थिक वर्ष २०७९\८० मा जम्मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ । जसमा २ वटा पालिका कोशी प्रदेशका छन् भने ३ वटा पालिका बागमती प्रदेशका छन् । ५ वटै गाउँपालिका रहेका छन् ।
महालेखा परीक्षकको कार्यालयका अनुसार कोशी प्रदेशका पाँचथरको याङ्वरक र ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु शून्य रहेको छ ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलान्चोकको महाभारत, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य रहेको छ ।
कार्यालयले आईतबार सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनमा जनाइएअअनुसार आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ ।
महाभारत गाउँपालिकामा आर्थिक वर्ष ०७८÷७९ मा गरिएको लेखापरीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजू देखिएको थियो । सो बेरुजु पछिल्लो आर्थिक वर्षमा शून्य प्रतिशतमा झरेको हो । महाभारत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’मा सूचीकृत गाउँपालिका हो ।