विराटचोकः सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
हिजो जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजित रकममध्ये चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६६.३१ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ अर्थात् १९ प्रतिशत विनियोजन गरिएको छ । सो रकम चालु आर्थिक वर्षको भन्दा ६.२ प्रतिशत र संशोधित अनुमान भन्दा २१.५३ प्रतिशत बढी हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ बेहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने अनुमान छ । सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ जुटाइने भएको छ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि अपुग हुने खुद ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा उल्लेख छ ।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । जसमा चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ बराबर अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ बराबर अर्थात् १७.५५ प्रतिशत विनियोजन गरिएको थियो । तर प्रस्तुत गरिएको बजेटको लक्ष प्राप्ति नहुने देखेपछि सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै घोषित बजेटको लक्ष्य घटाएको थियो ।