गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको पञ्चायत माविका विद्यार्थीलाई मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ । सुन्दरहरैचा नगरपालिका–७ स्थित शिव पाञ्चायन मन्दिरको सभा हलमा भएको कार्यक्रममा विद्यार्थीलाई तनाव व्यवस्थापनसम्बन्धी तालीम दिइएको हो ।
किवानिस क्लबको आयोजनामा भएको कार्यक्रमको सहजीकरण मनोविमर्शकर्ता सुशीला सुवेदीले गर्नुभएको थियो ।
कुनै पनि व्यक्ति मानसिक रुपमा स्वस्थ भएमा किशोरावस्थाको समयमा मात्र होइन जिन्दगीभर नै आइपर्ने समस्या र अप्ठयाराहरूसँग जुध्न सहज हुने सुवेदीले बताउनुभयो ।
कार्यक्रममा कक्षा ९ र १० का १ सय जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
किवानिस क्लब अफ सुन्दरहरंैचाकी अध्यक्ष पार्वती गच्छदारले कार्यक्रममा विद्यार्थी सहभागी गराएकोमा पञ्चायत माविप्रति आभार प्रकट गर्नुभयो ।
सहभागी विद्यार्थीले यस्तो कार्यक्रम बेला–बेलामा गर्न सुझाव दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठका साथै किवानिस क्लब अफ सुन्दरहरैचाका पदाधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।