Friday, December 5, 2025
Homeफिचरनागरिक समाजद्वारा आधारभूत विद्यालय शिक्षा रुपान्तरण अभियानअन्तर्गत ठडिया आधारभूत विद्यालयमा अन्तरक्रिया

नागरिक समाजद्वारा आधारभूत विद्यालय शिक्षा रुपान्तरण अभियानअन्तर्गत ठडिया आधारभूत विद्यालयमा अन्तरक्रिया

गोठगाउँः गत वर्षदेखि आधारभूत शिक्षा रुपान्तरण अभियान शुरु गरेको नागरिक समाज सुन्दरहरैंचाले चालु आर्थिक वर्षको पहिलो एक दिवसीय अन्तरक्रिया कार्यक्रम ठडिया आधारभूत विद्यालय सुन्दरहरैंचा ७ मा आयोजना गरेको छ ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी श्रेष्ठले विद्यालयमा पर्याप्त शैक्षिक सामग्री नभएको, विद्यालयको छाना चुहिने भएको, विद्यालयका टहराहरुमा रङरोगन गर्न नसकिएको, सिलिङ नभएकाले गर्मीको समयमा कक्षाकोठामा बस्नै नसकिने भएको, झ्यालमा जाली नभएकाले बालबालिकालाई लामखुट्टेले टोक्ने समस्या भएको बताउनुभयो ।

नगरपालिकाले अनुदान दिने भनी घोषणा गरेको रकम निकासा नगरी झुलाएको उहाँको गुनासो थियो । विद्यालयलाई दिने भनी घोषणा गरिएको अनुदान उपलब्ध गराउन आलटाल गरे शिक्षक, अभिभावक तथा समाजसेवीसमेत गई सम्बन्धित अधिकारीलाई विद्यालय जिम्मा लिन आग्रह गर्ने उहाँको भनाइ थियो । शिक्षण सुधारको लागि स्वयम्सेवक शिक्षकको व्यवस्था गरेर अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गरेको र विद्यालय सुधारको अभियानमा आफू निरन्तर लागिपरेको बताउँदै विद्यार्थी ग्रहण क्षेत्रका शिक्षाप्रेमी लगायतका व्यक्तिहरुको साथ सहयोग पाएमा आफू अध्यक्ष भएको समयमै विद्यालयलाई राम्रो बनाएरै छाड्ने अध्यक्ष श्रेष्ठले उद्घोष गर्नुभयो ।

अङ्ग्रेजी माध्यका लागि शैक्षिक सामग्री अभाव हुनुका साथै स्रोत तथा साधन जुटाउन कठिन भए पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन जारी राखेको विद्यालयकी प्रधानाध्यापक वाणी काफ्लेले बताउनुभयो । थप शैक्षिक रुपान्तरण गर्दै विद्यालयप्रति समुदायको विश्वास बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय समाजसेवी, अभिभावक शिक्षकसमेत ५३ जनाको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अध्यक्ष दधिराम ढुङ्गानाले विद्यालयलाई चार दर्जन अभ्यास पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । आधारभूत विद्यालय सुधार गर्नुपर्छ, गर्न सकिन्छ र शिक्षककै नेतृत्वमा रुपान्तरण सम्भव छ भन्ने कुरा जनमानसमा स्थापित गर्नुपर्दछ भन्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका अतिथि वडा सदस्य खुशीलाल चौधरीले विद्यालय सुधार अभियान सञ्चालन गर्दा सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थी भर्ना अभियानमा अङ्ग्रेजी माध्यमबाट पढाइ गर्ने भनिए पनि विद्यार्थीलाई आकर्षित गर्न नसकिएको विद्यालयका शिक्षकहरुको भनाइ थियो ।

समाजका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन नागरिक समाजकी सदस्य शारदा न्यौपानेले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments