काठमाडौंः फोर्ब्सले बिहीबार ‘३० अन्डर ३० एसिया’ को नवौं संस्करण सार्वजनिक गरेको छ । सो सूचीमा एसिया–प्रशान्त क्षेत्रका ३० वर्ष मुनिका उद्यमी, नेता र अग्रगामी उद्यमी, नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने र व्यापार व्यवसायमा परिवर्तन ल्याउने युवाहरूको नाम समावेश छ ।
सो सूचीमा नेपालीहरूको नेपालका २ युवतीहरू काजोल सेठिया र श्रेया गिरीको नाम पनि समावेश भएको छ ।
काजोल सेठिया
२८ वर्षीया काजोल सेठिया ३० अण्डर ३० एसिया द आर्ट्समा पर्नुभएको छ । सिंगापुरमा इन्जिनियरिङ अध्ययन सकेर नेपाल फर्किएपछि उहाँले सन् २०२४ मा भेगन डेरी स्थापना गर्नुभयो । भेगन डेरी नेपालले दूध, चीज, दही, बटर र हेल्थ सप्लिमेन्ट जस्ता शाकाहारी उत्पादनहरू उत्पादन गर्ने गरेको छ ।
श्रेया गिरी
२८ वर्षीया श्रेया गिरी ३० अण्डर ३० एसिया सोशल इम्प्याक्टमा सूचीकृत हुनुभएको छ । नेपाली डिजिटल मानसिक स्वास्थ्य प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक गिरी लण्डनमा पढाइ सकेर मानसिक रोगका बारेमा गलत धारणा तोड्ने अभियानमा जुट्न नेपाल फर्किएको बताउनुहुन्छ ।
ह्याप्पी माइन्ड्सले व्यक्तिगत रूपमा वा अनलाइनका माध्यमले परामर्श दिनुका साथै सामूहिक कार्यशालाहरू प्रदान गर्दछ । यससँगै ह्याप्पी माइन्ड्सले युनिलिभर नेपाल, लीपफ्रग र द ब्रिटिश कलेज जस्ता संस्थाहरूसँग साझेदारी गरी आफ्ना कर्मचारीहरूलाई निःशुल्क मनोवैज्ञानिक परामर्श प्रदान गर्ने रोजगार सहायता कार्यक्रम पनि दिने गरेको छ ।