गोठगाउँः जुनियर रेडक्रस सर्कल गठन भएका सुन्दरहरैंचाका सामुदायिक विद्यालयबीच आज भएको हाजिरीजवाफ प्रतियोगितामा पञ्चायत मावि सुन्दरहरैंचा पहिलो भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको साजीलाल मावि दोस्रो र जनता मावि बुधबारे क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
बिहीबार सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ८ को सभाहलमा भएको कार्यक्रममा सुन्दरहरैंचामा जुनियर रेडक्रस सर्कल गठन भएका ८ माध्यमिक र १ आधारभूत गरी ९ वटा विद्यालय सहभागी थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाका अध्यक्ष घनेन्द्र न्यौपानेको अध्यक्षता तथा सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
रेडक्रसले जिल्लाभरका पालिकामा विपद् व्यवस्थापनलगायतका विषयमा आधारित रहेर प्रश्न निर्माण गरी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिरहेको छ ।