गोठगाउँः पढ्नको लागि विभिन्न देश जाने सन्तानका अभिभावकको पीडा समेटिएको गीत सार्वजनिक गरिएको छ । सुन्दरहरैंचा घर भएका लोक तथा दोहोरी गायक बालकृष्ण सिग्देलको शब्द सङ्गीत तथा स्वर रहेको गीत सार्वजनिक गरिएको हो ।
सिग्देलले आफू अस्ट्रेलिया गएर बसेको समयमा गीत रचना गरेको बताउनुभयो । अस्ट्रेलियामा रहेका नेपाली आमा बुवाहरुको वास्तविक जीवन घटनाबाट प्रेरित भएपछि गीत रचना गरेको उहाँले सुनाउनुभयो ।
चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा निर्देशक अरुणकुमार प्रधानले भिडियो निर्देशन गरेका छन् । सो गीत कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री सुनिता गुरुङको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सम्भावनाको खानी रहे पनि युवाहरूको विदेश मोहका कारण उत्पन्न परिस्थितिलाई गीतले समेटेको बताउनुभयो ।
शिक्षाविद् लेखनाथ घिमिरेले गीतले जनताको मनभित्रको पीडा वकालत गर्न सफल भएको बताउनुभयो ।
म्युजिक भिडियोको छायाङ्कन सुमन तामाङले र सम्पादन हेमन तामाङले गरेका छन् । भिडियोमा दिनेश कोइराला, उमा कार्की, किशोर थापा र नारायण भण्डारीले अभिनय गर्नुभएको छ ।