विराटचोकः सुन्दरहरैंचा १० मा रहेको द राइजिङ इङ्लिस बोर्डिङ स्कुलका ३८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । आज एक कार्यक्रमका बीच उनीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
छहारी एजुकेशन एण्ड अपरच्युनिटिज काठमाडौं तथा छहारी इङ्क युएसएको सहयोग र कोशी बुक्स एण्ड स्टेशनरी सुन्दरहरैंचा १० को सहकार्यमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक तथा सो विद्यालयका संस्थापक प्रिन्सिपल राजेन्द्र थापाका अनुसार ती ३८ जना विद्यार्थीको एक वर्षको सम्पूर्ण शिक्षण शुल्क, विद्यालय पोशाक तथा शैक्षिक सामग्रीका लागि ६० प्रतिशत खर्च छहारी एजुकेशनले तथा ४० प्रतिशत खर्च विद्यालयले बेहोर्ने सहमति भएको छ । ४० प्रतिशत खर्च बेहोर्न अन्य विद्यालय तयार भएमा अन्य विद्यालयमा पनि सो छात्रवृत्ति कार्यक्रम लागू हुने थापाले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक थापाका अनुसार छहारी इङ्क युएसएका प्रतिनिधि २ वर्ष अघि आएर १५ दिन विराटचोकमा बसेर द राइजिङ स्कुलका विद्यार्थीको घरघरमा पुगेर छात्रवृत्तिका लागि योग्य विद्यार्थी छनोट गरेका थिए । असहाय, विपन्न तथा अशक्त अभिभावकका सन्ततिलाई छनोट गरिएको थापाले जानकारी दिनुभयो ।
यसअघि ३८ परिवारलाई सेरेमिक फिल्टर वितरण गर्नुका साथै विद्यालयका अभिभावक, विद्यार्थी तथा समुदायका व्यक्तिलक्षित स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थापाले जानकारी दिनुभयो ।