ताप्लेजुङः ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रशारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो ।
सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।
प्रबन्ध निर्देशक घिसिङका अनुसार यो सँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको छ ।
सो आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ मिटर अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युतगृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो ।