Tuesday, December 24, 2024
Homeफिचरबैशाख १२ देखि हिमालयन हाइड्रो एक्स्पो, तयारी अन्तिम चरणमा

बैशाख १२ देखि हिमालयन हाइड्रो एक्स्पो, तयारी अन्तिम चरणमा

काठमाडौंः ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा बैशाख १२, १३ र १४ गते एक्स्पो हुन लागेको हो ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।

एक्स्पो आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने जनाइएको छ ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकाय, विश्वविद्यालय, कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयाममा नीतिगत बहसका साथै नयाँ प्रविधि र उपकरणहरुको प्रदर्शनी गर्न झण्डै एक दर्जनभन्दा बढी देश सहभागी हुने बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments