भोजपुरः टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आगामी २०८१ बैशाख १ गतेदेखि बैशाख ३ गतेसम्म महोत्सवको आयोजना हुने भएको छ ।
स्थानीय कृषिका उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा कला संस्कृतिको प्रवर्द्धनका लागि चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजनामा महोत्सव हुने भएको हो ।
महोत्सवलाई टेम्के मैयुङ गाउँपालिकाले प्रायोजन गर्ने भएको छ । आयोजक संस्थाका अध्यक्ष आइकुमार राईका अनुसार महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारहरुको स्टल पनि राखिने भएको छ ।
महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको वृत्तचित्रसमेत प्रदर्शनी गरिने भएको छ । स्थानीय अर्गानिक खाद्य उत्पादनका बिभिन्न परिकारहरुको स्वादसमेत लिन सकिने महोत्वसवमा गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको बताइएको छ ।
५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने भएको छ । कलाकारहरु दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्दकला राई, उमेश राई (फुलन्देकी आमा) लगायतको सहभागिता रहने बताइएको छ ।
साहित्यकार ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको सहभागिता महोत्सवमा हुने भएको छ ।