मुग्लिनः आज बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको मुग्लिनछेउबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुने र बेपत्ता हुने एकै परिवारको रहेको खुलेको छ ।
ट्याक्सीमा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय,९ वर्षीय आगमन नगरकोटी र १८ वर्षीय दिवस रोकाय सवार थिए । दिवसबाहेक सबैलाई प्रहरीले मृत अवस्थामा नदीबाट निकालेको छ । दिवस बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । उनी त्रिशुलीमा बेपत्ता भएका १८ वर्षीय दिवसका बाबु हुन् । मृत्यु भएकी ७० वर्षीया जुनमाया हिजो निधन भएका शंकरकी आमा हुन् ।
हरिमाया र अन्जना जुनमायाका छोरी हुन् । ट्याक्सी चालक जुनमायाका ज्वाइँ हुन् । ९ वर्षीय बालक पनि जुनमायाका छोरीपट्टिका नाति हुन् । शंकरको दाहसंस्कारपछि एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर गाउँ फर्कँदै गर्दा एउटा ट्याक्सी त्रिशुलीमा खसेको थियो ।