मुग्लिनः काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । १ जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गको सडकबाट त्रिशुली नदीमा खसेको थियो ।
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् । सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् ।
बेपत्ताको खोजीका लागि दुर्घटनास्थलमा टोली खटाइएको प्रहरीले जनाएको छ । मृत्यु भएका पाँचै जना र ट्याक्सीलाई नदीबाट निकालिएको छ ।