काठमाडौंः कुनै पनि बैंकको चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने व्यक्ति सो बैंकको सञ्चालक बन्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले बैंकर र व्यवसायी छुट्याउनको लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा सोहीअनुसार संशोधन गर्ने प्रस्ताव गरेको छ ।
अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको बाफिया विधेयकमा चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
सम्बद्ध व्यक्ति वा निजको परिवारले व्यवसायिक ऋण लिएको सीमा यकिन गर्न आवश्यक भएकोले सो व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।