खेमचन्द्र अधिकारी
दुलारीः सामान्यतः राजनीतिक नेता, कार्यकर्तामा वैचारिक एकता देखिँदैन । सार्वजनिक कार्यक्रमका औपचारिक भाषण वा छलफलमा एकअर्काको विचार नस्वीकार्ने नेता, कार्यकर्ता अनौपचारिक छलफलमा भने अन्य दलको विचारलाई पनि समर्थन गर्छन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ सी ले सोमबार दुलारीमा आयोजना गरेको कार्यक्रममा उपस्थित नेता, कार्यकर्तामा पनि यस्तै दृश्य देखियो । कार्यक्रममा निम्त्याइएका विभिन्न दलका नेता औपचारिक कार्यक्रम शुरु हुनुपूर्व नै निर्धारित कार्यक्रमस्थलमा पुगेर एउटै वृत्त टेबलमा बसी अनौपचारिक छलफलमा सहभागी भएका थिए ।
राष्ट्रिय सभाको पदावधि हालै सकिएका नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले अब आफू बोल्नेभन्दा पनि सुन्ने क्रममा रहेको बताउनुभयो ।
जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलालतिर फर्कँदै उहाँले दुलालले जस्तो पार्टीलाई होइन व्यक्तिलाई नेता छान्नुपर्ने बताउनुभयो । उहाँको यो भनाइमा दुलाल मुस्कुराउँदा छेउमा रहनुभएका नेकपा माओवादी केन्द्रका सुन्दरहरैंचा नगर इन्चार्ज नवराज चापागाईँ, नेकपा एमालेको मोरङ जिल्लाको नेतृत्व लिन गृहकार्य गरिरहनुभएका कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, नेकपा एमालेका नगर अध्यक्ष मातृकाबाबु ढकाललगायतको मुहार पनि चम्किएको थियो ।
माओवादी नेता चापागाईँले अब गठबन्धन जोसँग पनि र जतिखेर पनि हुन थालेपछि नेतालाई मतदाताले विश्वास गर्न छोडेका बताउनुभयो । नेतालाई जस्तो मतदातालाई ह्वीप लगाउन नसकिने हुनाले गठबन्धनको औचित्य अब नहुने उहाँको तर्क थियो ।
चापागार्इँलाई समर्थन गर्दै नेपाली कांग्रेसका रायमाझीले भन्नुभयो, ‘हामीले बुबाले जहाँ भन्नुभयो त्यहीँ भोट हाल्यौँ । अहिलेको पुस्ता मान्दैन’, उहाँले हाँस्दै भन्नुभयो, ‘मेरै सन्तान मैले भनेको मान्दैनन् । तपाईँले भनेको चिह्नमा हामीले भोट हाल्ने होइन, हाम्रो निर्णय हामी आफैँ लिन्छौँ भन्छन् ।’
पूर्व राज्यमन्त्री ओझाले छलफललाई अझ अघि बढाउँदै भन्नुभयो, ‘अब १० प्रतिशत थ्रेस होल्डको व्यवस्था गर्नुपर्छ । थ्रेस होल्ड कटाउन नसक्ने पार्टी आफैँ समाप्त हुन्छन् । देशमा कांग्रेस र कम्युनिष्टमात्रै दुई वटा पार्टी हुन्छन् । जसले बहुमत पुर्याउँछ उसैले सत्ता चलाउँछ ।’
छलफल अझै लम्बिन सक्थ्यो तर आगन्तुकको उपस्थिति बाक्लिएकाले औपचारिक कार्यक्रम शुरु भएको थियो । औपचारिक कार्यक्रममा भने होलीसम्बन्धी विचार मात्रै नेताहरुले राख्नुभएको थियो । राजनीतिसम्बन्धी कुनै चर्चा भएको थिएन ।