विराटनगरः केही दिन अगाडि विराटनगरमा बसेको नेकपा एमाले कोशी प्रदेश समितिको बैठकले ११ जिल्लाको अधिवेशनको मिति तोकेको छ । मोरङ र सुनसरीको भने अधिवेशनको मिति तोकेको छैन । जेठ मसान्तसम्ममा सबै जिल्लाको अधिवेशन गरिसक्ने एमालेले जनाएको छ ।
एमाले नेता मनमोहन अधिकारी र मदन भण्डारीको गृहजिल्ला मोरङको अधिवेशनलाई पार्टी नेताहरुले महत्वका साथ हेरेका छन् । अधिवेशनको मिति नजिकिएसँगै जिल्ला अध्यक्षका आकांक्षीहरूको दौडधूप पनि सुरु भएको छ ।
हालसम्म प्रदेश समितिका सचिवालय सदस्य राजकुमार ओझा, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापा र प्रदेश समितिमा पराजित नेता महेश भट्टराईले नेतृत्वमा जान चाहेको बताइएको छ ।
मोरङका सबै वडाको अधिवेशन सम्पन्न भए पनि पालिकाहरुको भने अधिवेशन बाँकी रहेको छ ।