विराटनगरः विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सरका बिरामीका लागि निःशुल्क हवाई सेवा टिकट उपलब्ध गराउने भएको छ । इन्स्टिच्युटले यति एयरलाइन्ससँग सम्झौता गरेर सो सेवा दिने भएको हो ।
इन्स्टिच्युट र एयरलाइन्सका बीच भएको सम्झौताअनुसार विराट क्यान्सर इन्स्टिच्युटमा उपचार गर्न पुग्ने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गरिने भएको हो ।
निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्ने बताइएको छ । अस्पतालका विशेषज्ञ चिकित्सकले कागजातका आधारमा क्यान्सरको बिरामी भएको परिचयपत्र उपलब्ध गराएपछि एयरलाइन्सले निःशुल्क टिकट दिने बताइएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले सुविधा प्रदान गरिएको एयरलाइन्सले जनाएको छ ।