गोठगाउँः लालीगुराँस भजनकीर्तन समूह सुन्दरहरैंचा ११ को साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा ११ का वडाध्यक्ष बिसनलाल चौधरीले सुन्दरहरैंचाकै नमूना भजनकीर्तन समूहको रुपमा रहेको संस्थालाई वडाले सहयोग गरिरहेको बताउनुभयो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।
समूहका सल्लाहकार तथा कृषि सहकारी संघ कोशीका सचिव रवीन्द्र आचार्यले समाजमा धार्मिक भावनाको विकास गरी सामाजिक सद्भाव कायम गर्न संस्थाले उल्लेख्य योगदान गरेको बताउनुभयो ।
लालीगुराँस टोल विकास संस्थाकी प्रतिनिधि यशोदा दाहालले भजन कीर्तन समूहहरु दुःख बिसाउने चौतारीका रुपमा रहेका र लालीगुराँस त्यसमा अब्बल भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष पोष्टकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा संस्थाकी सचिव तुलसा आचार्यले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थालाई आवश्यक पर्दा हरेक किसिमले सहयोग गर्ने २ जना सदस्यलाई सम्मान गरिएको थियो ।