काठमाडौंः ६३५ मेगावाटको दूधकोशी जलाशय जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने गरी डिजाइन अगाडि बढाइएको छ । अपेक्षितभन्दा लामो सुरुङ निर्माण गर्नुपर्ने जटिलता रहेको हुँदा उक्त प्रविधि प्रयोग गर्ने डिजाइन बनाउन लागिएको हो ।
झण्डै १८ किलोमिटरसम्म लामो सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा टिबिएम प्रयोग गर्ने गरी डिजाइन सुरु गरेको दूधकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । उनका अनुसार आयोजनाको मुख्य सुरुङ (हेडरेस टनेल) को लम्बाइ १३ किलोमिटर र दुईवटा एडिट सुरुङहरूको लम्बाइ करिब ५ किलोमिटर हुनेछ ।
टिबिएमबाट खन्दा एडिट सुरुङहरू बनाउनु नपर्ने हुँदा १८ किलोमिटरको सट्टा १३ किलोमिटरमात्र खने पुग्ने उनले जनाए । टिबिएम प्रयोग गर्दा एडिट सुरुङसम्म पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग समेत बनाउनु नपर्ने हुनाले कम लागत लाग्ने उनको भनाइ छ ।
नेपालमा अहिलेसम्म भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सन (पथान्तरण) आयोजनामा उक्त मेसिन प्रयोग गरिएको छ । सो आयोजनाका लागि टिबिएम प्रविधि प्रयोगको निर्णय भएमा जलविद्युत् आयोजनामा सो उपकरण प्रयो गरिएको पहिलो आयोजना हुनेछ ।
का लागि पहिलो हुनेछ । यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत चासो रहेको गुरुङले बताए ।
यसअघिका दुई परियोजनामा प्रयोग गरिएको हुँदा उक्त विधि सम्पूर्ण रूपमा जोखिममुक्त (जोखमविहीन वा जोखिमरहित वा जोखिम नभएको) भन्ने होइन तर मानवीय जोखिम शून्य प्रायः हुने अध्ययनले देखाएको छ । यसका राम्रा र नराम्रा पक्षबारे अहिले विस्तृत अध्ययन तथा छलफल भइरहेको गुरुङले जानकारी दिए ।
निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ ।
आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८ घरधुरी पूर्ण रुपमा तथा २ हजार ९०१ घरधुरी आंशिक रूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ ।