Tuesday, December 24, 2024
Homeफिचर१२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

१२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौंः १२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । घोषणापत्रमा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ’ अभियानलाई मूर्त रुप दिने जनाएको छ ।

घोषणापत्रमा लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने कुरा उल्लेख छ ।

लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउन युवा परिचालन गर्ने, वातावरण अनुकुलता प्रवर्द्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने घोषणापत्रमा उल्लेख छ ।

समापन समारोहमा प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेकाले यस्तो अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताए । यस क्षेत्रमा आएका विचलनलाई रोक्नको लागि गल्ती गर्नेलाई कारवाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्यजवाफदेही बन्नुपर्ने उनको धारणा थियो ।

सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको अवस्थामा झण्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् ।

समापन कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुराहरुलाई समुदायस्तरमा गएर लागू गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । फागुन ५ र ६ गते भएको सम्मेलनमा ८ सय महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments