दमकः झापाको पृथ्वीनगरमा रहेको सहकारी चिया प्रशोधन कारखाना र महारानीझोडामा सञ्चालित एकीकृत सहकारी खेतीको अवलोकन भ्रमणपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सहकारी विभागका रष्ट्रिार पिताम्बर घिमिरेले किसान र उद्यमीसँग छलफल गरेका छन् । छलफलमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक, संघका महाप्रबन्धक रुद्र भट्टराई लगायत सहभागी थिए ।
पृथ्वीनगर साना किसान सहकारी संस्थाकी मुख्य प्रबन्धक देवी कोइरालाले संस्था र संस्थाले सञ्चालन गरेको चिया प्रशोधन केन्द्रको बारेमा जानकारी गराउनुका साथै संस्था र उद्योग सञ्चालनका क्रममा भोगेका समस्याका बारेमा जानकारी गराएकी थिइन् ।
सो अवलोकन भ्रमण टोलीले झापाको महारानीझोडामा रहेको एकीकृत सहकारी खेतीको बारेमा सञ्चालक तथा सदस्यहरूसँग छलफल गरेको थियो । छलफलमा साना किसान कृषि सहकारी संस्था महारानी झोडाकी अध्यक्ष तथा नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मीना ढकाल पनि सहभागी थिइन् ।
छलफलका क्रममा चक्लाबन्दी खेतीको बारेमा गापाल बझगाईले जानकारी गराएका थिए भने छलफलमा सहभागी किसानहरूले आफ्नो व्यवसाय र सफलतासँगै समस्याका विषय अघि सारेका थिए ।
महारानीझोडा साना किसान कृषि सहकारीले सञ्चालन गरेका विभिन्न परियोजना तथा शेयर सदस्यले गरेको व्यवसायको बारेमा संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले जानकारी गराएका थिए ।
संस्थाले सञ्चालन गरेको बीउ प्रशोधन उद्योगको बारेमा मनोज भट्टराईले जानकारी गराएका थिए भने किसानहरु सीतादेवी भण्डारी, कृष्णबहादुर कार्कीलगायतले व्यवसायमा भोग्नुपरेका समस्याको बारेमा जानकारी गराएका थिए ।