केराबारीः विश्व सालक दिवसको अवसर पारेर मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ मा शनिबार सालक संरक्षणका विषयमा चर्चासँगै संरक्षणमा लाग्ने अभियन्तालाई सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सरोकारवाला वक्ताहरुले आफ्नो क्षेत्रबाट संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नमुना फर्माकल्चर सिकाई थलो, तम्मर फर्माकल्चर सिकाई थलो र भर्टिकल बायोडाईभर्सिटी फण्डको आयोजनामा भएको कार्यक्रममा सालक संरक्षणमा लाग्ने अभियन्तालाई सम्मान गरिएको थियो । अभियन्ता धनबहादुर तामाङ, समीक्षा राई, रबि कट्टेल र टीका भण्डारीलाई सम्मान गरिएको हो । सो दिवसको अवसरमा भएको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विजयी हुनेहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
केराबारी गाउँपालिकाले सङ्कटापन्न सालक संरक्षण गर्ने उदेश्यले “समुदायमा आधारित सालक संरक्षित विशेष क्षेत्र व्यवस्थापन कार्यविधि २०८०” ल्याएर काम गर्दै गरेको प्रवक्ता नारायण भुजेलले बताए ।
केटिके बेल्ट देशीय प्रतिनिधि प्रमोद लिङ्गदेनले हरेक पाँच मिनेटमा सालक मरिरहेको भन्दै यसलाई संरक्षण गर्नुपर्ने बताए । सालकले एक दिनमा दुई लाखसम्म कमिला र धमिरा खाएर हाम्रा बालीनाली फस्टाउन नदिने कीरा सखाप पार्नुका साथै यसले जमिन खोस्रेर उर्वर बनाउने हुनाले सालकको महत्व किसानले बुझ्नुपर्ने उनको भनाइ थियो ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले आफ्नो नगरमा पनि सालक संरक्षण गर्ने अभियान लिएर आउन आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद खड्ग बस्नेतले सालक संरक्षणमा आफ्नो तर्फबाट वन मन्त्रालयसंग समन्वय गरेर आफ्नो क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, केराबारीका विभिन्न वडाका वडाअध्यक्षहरू, विभिन्न सिकाई थलोका प्रमुख प्रतिनिधि, कवि, पत्रकार स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
नमूना फर्माकल्चरका अध्यक्ष कुमार विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ममता पराजुलीले गरेकी थिइन् ।
विश्वभर आठ जातिका सालक पाइन्छन् । तर नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइने भए पनि अहिले यसको सङ्ख्या घटिरहेको वक्ताहरुले बताए ।