विराटचोकः नेपालीहरूको महान् चाड तिहारको तेस्रो दिन आज गाई पूजा गरिँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा वा छिमेकीको घरमा गई गाईको पूजाआजा गर्ने परम्परा छ ।
गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।





