विराटचोकः २० वटा वाणिज्य बैंकमध्ये फागुन महिनाका लागि १६ वटाले ब्याजदर घटाउने भएका छन् । ती बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औसत ब्याजदर ० दशमलव ४० प्रतिशतबिन्दु घटेको छ ।
माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औसत ब्याजदर फागुनमा घटेर ७ दशमलव ७५ प्रतिशतविन्दुमा सीमित भएको छ । संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औसत ब्याजदर ० दशमलव ३७५३ प्रतिशतविन्दु घटेको छ ।
सिटिजन्स बैंकले फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।
हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदर कायम गर्ने भएका छन् ।