विराटचोकः माघ २ गते २१७५ दशमलव १७ अंकमा बन्द भएको नेप्से त्यसपछि ओरालो लाग्यो । २०६१ अंकसम्म झरेको शेयर बजार फेरि उकालो लाग्दै २१०० कै वरपर घुमिरहेको छ ।
साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) २१०० भन्दा माथि पुगे पनि अडिन सकेन । आज नेप्से परिसूचक १० दशमलव ५० अंक अर्थात् ० दशमलव ५० प्रतिशतले घटेर २ हजार ८५ दशमलव ८२ बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता शेयर ८३ हजार ८७७ पटक किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।
आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ । विकास बैंक समूह ०.०९, जलविद्युत समूह ०.२२ र सामुहिक लगानी कोष ०.०५ प्रतिशतले बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै अर्थात २.८८ प्रतिशतले तल झरेको छ ।
विगतका दिनमा झैँ आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६२ करोड ४७ लाख ८५ हजार ३६८ रुपैयाँको शेयर कारोबार भएको छ ।
एनआरएन, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक र हाथवे इन्भेष्टमेन्ट कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार घटे पनि आज समाज लघुवित्त र कुथेली बुखरी स्मल हाईड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्रिशुली जलविद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी र मायाखोला हाइड्रो उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक अर्थात् ७ दशलव १४ प्रतिशतले घट्दा गुराँस लघुवित्तको शेयरमूल्य ७.१३, गणपति लघुवित्तको शेयरमूल्य ४.६६ र किसान लघुवित्तको शेयरमूल्य ४.४७ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ७८ अर्ब ७३ करोड ३७ लाख ६८ हजार ६३६ कायम भएको छ ।