इलाम । इलामको ऐतिहासिक इलाम दरबारस्थित अरनिको संग्रहालयमा मुन्धुम विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र मुन्धुम अध्ययन प्रतिष्ठान हङकङको सहकार्य तथा इलाम नगर साहित्य प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मुन्धुम अध्ययन प्रतिष्ठान हङकङद्वारा प्रकाशित ‘सिङ्जाःङ्गो (मुन्धुम मन्थन)’ र डा. अस्मिता विष्टको ‘समयसालमा नृत्यमग्न आकृति’ गरी दुई पुस्तक विमोचन गरिएको थियो ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दीपक सापकोटासहित साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।
मुन्धुम विमर्शका क्रममा प्राज्ञ दीपक सापकोटा, नवीन अभिलाषी, सीता तुम्खेवा र डा. अस्मिता विष्टले मुन्धुमका विभिन्न पक्षमाथि विचार व्यक्त गर्नुभएको थियो ।
डा. दीपक लुङ्गेलीले ‘मुन्धुमको सौन्दर्य दर्शन’ र डा. मधुराज केरुङले ‘सिः मेरिङ हाम्लाक्वाको आख्यान’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले सांगीतिक प्रस्तुति दिएका थिए । कवि सुन्दर कुरूपले कविता वाचन गरेका थिए ।
यसअघि इलामको टुँडिखेलबाट ऐतिहासिक इलाम दरबारसम्म लिम्बू समुदायको मौलिक सांस्कृतिक भेषभूषासहित र्याली निकालिएको थियो ।
इलाम नगर साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले मुन्धुमको अध्ययन, अनुसन्धान, संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि यस्ता विमर्श कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले गर्नुभएको थियो ।





