इलामः चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको २५ औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गरेको छ ।
अनसन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सचिवालयले जनाएको छ । डा. केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा आमरण अनशन शुरु गरेका हुन् । यसअघि पनि इलाममा सत्याग्रह गरिसकेका केसीले यसपटक विभिन्न माग अघि सार्दै दोस्रोपटक इलामलाई सत्याग्रहस्थल बनाएका हुन् ।
चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको भन्दै उनले विवादित निर्णय खारेज गर्न माग गरेका छन् । न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको तथा विभिन्न शिक्षण संस्थामा सिट संख्या वृद्धि गरिएकोप्रति उनले आपत्ति जनाएका छन् ।





