नेमुवा । मोरङको बुढीगंगा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मा ९ कठ्ठा २ धुर जग्गामा निर्माण गरिएको सुविधासम्पन्न प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरले उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्दै अध्यक्ष थापा मगरले आफ्नै सुविधासम्पन्न भवन बनेपछि नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराइने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले भवन निर्माणको वित्तीय तथा प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो ।
संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँमा सो भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि ब्राइट ब्लु निर्माण सेवा, धरान–१३ सुनसरीसँग सम्झौता भएको थियो ।
निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न गरेको अधिकृत भट्टराईले जानकारी दिनुभयो । हालसम्म निर्माण कम्पनीलाई ७ करोड ५५ लाख ५ सय ५५ रुपैयाँ १६ पैसा भुक्तानी भइसकेको छ भने बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको बताइएको छ ।





