बेलबारीः बालबालिकाहरूमा बढ्दै गएको स्क्रिन (मोबाइल, कम्प्युटरको अत्यधिक प्रयोग) को कुलत छुटाउन र उनीहरूलाई सृजनशील बनाउन बालएकाङ्कीको भूमिकाबारे सरोकारवालाबीच विचार–विमर्श गरिएको छ ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा ‘डिजिटल युगमा बालएकाङ्कीको महत्त्व’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सांसद हर्कमान तामाङले स्क्रिनको लतबाट बालबालिकालाई जोगाउने विषय आजको समयमा अत्यन्तै आवश्यक र संवेदनशील भएकाले यस क्षेत्रमा अझ व्यापक चर्चा र अन्तरक्रिया हुनुपर्नेमा जोड दिनुभयो ।
बेलबारी नगरप्रमुख दिलप्रसाद राईले सूचना प्रविधिको नकारात्मक प्रभावबाट बालबालिकालाई बचाउन सानै उमेरदेखि नाटक तथा सृजनात्मक गतिविधिमा संलग्न गराउनुपर्ने बताउनुभयो ।
नाट्यकर्मी तथा साहित्यकार ईरान राईले सहभागीहरूलाई स्वागत गर्दै अन्य विधाको तुलनामा बालएकाङ्कीले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो ।
उहाँले बालबालिकाहरूलाई दैनिक कम्तीमा एक घण्टा नाटक अभ्यासमा लगाउन सकिने सुझाव पनि दिनुभयो ।
अन्तरक्रियाका क्रममा उपप्राध्यापक डा. गोपीकृष्ण खतिवडा, उपप्राध्यापक डा. दीपक न्यौपाने र रङ्गकर्मी घिमिरे युवराजले प्रविधिको कुलतबाट जोगाउँदै बालबालिकामा सिर्जनशीलता भर्ने मुख्य माध्यम बालएकाङ्की नै भएको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रस्तुत विचारहरूमाथि टिप्पणी गर्दै प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, शब्द थिएटरका निर्देशक जीवन बराल र रङ्गकर्मी भरत गुरागाईँ ‘बर्बरिक’ले विचार–प्रस्तोताहरूको धारणा समसामयिक र सान्दर्भिक रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा नाट्यकर्मी, चलचित्रकर्मी तथा साहित्यकारहरू प्रताप थापा, विवेक रिजाल, शम्भु भट्टराई, रेखा सुवेदी, जेबी थुलुङ, तिला लेकाली, विमला पोखरेल, लक्ष्मी रेग्मी सुवेदी, प्रयाग न्यौपाने, लेखबहादुर धिमाल, केदारनाथ ढकाल, राजु परियार, मञ्जिल बराल, झकेन बिसीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विकास बुढाथोकीले गर्नुभएको थियो ।





