Thursday, October 8, 2026
Homeकला र साहित्यईरान राईको बाल एकाङ्की सङ्ग्रह ‘जिउँदा सपनाहरू’ विमोचित

ईरान राईको बाल एकाङ्की सङ्ग्रह ‘जिउँदा सपनाहरू’ विमोचित

बेलबारी । स्रष्टा ईरान राईको बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक गरिएको छ । स्रष्टा राईको सो कृति संयुक्त लेखनको १५ औँ तथा एकल लेखनको ११ औँ कृति हो ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, एकाङ्कीकार ईरान राई, नाट्य विषयमा विद्यावारिधि गरेका डा. गोपीकृष्ण खतिवडा, शिल्पी थिएटर काठमाडौँका निर्देशक घिमिरे युवराज, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, नाट्यकर्मी प्रयाग न्यौपाने, पथरी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख चेतन जङ्गली, वडाध्यक्ष कृष्णबहादुर गुरुङ र बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख राईले नाटकले विद्यार्थीहरूलाई सृजनशील बनाउन मद्दत गर्ने भन्दै ‘जिउँदा सपनाहरू’ समाज र शिक्षाका लागि उपयोगी कृति भएको बताउनुभयो ।

वरिष्ठ साहित्यकार हर्कमान तामाङले मानिसहरूलाई सही मार्गमा डोर्याउन नाटक प्रभावकारी माध्यम हुने र विमोचित कृतिले सोही कार्यमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कृतिकार राईले २०४२÷२०४३ देखि नै आफू नाटक लेखन, निर्देशन र मञ्चनमा सक्रिय रहेको स्मरण गर्दै बालबालिकालाई डिजिटल स्क्रिनको कुलतबाट जोगाएर सही दिशामा मोड्ने उद्देश्यले बालएकाङ्कीहरू तयार पारेको जानकारी दिनुभयो ।

समीक्षात्मक टिप्पणी गर्दै डा. गोपीकृष्ण खतिवडाले सानातिना संशोधनबाहेक पुस्तकका सबै एकाङ्कीहरू मञ्चनयोग्य र उत्कृष्ट रहेको बताउँदै बालबालिकाका साथै शिक्षक, अभिभावक र नीतिनिर्माताले समेत पढ्नुपर्ने स्तरको कृति बनेको उल्लेख गर्नुभयो ।

समीक्षक घिमिरे युवराजले नाटकहरूमा मौलिक पात्रको चयन रहेको र मञ्चनका दृष्टिकोणले थप क्रियाकलापहरू समेट्न सकिने सुझाव दिनुभयो ।

कार्यक्रममा बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीका साथै चेतन पौडेल ‘जङ्गली’ र नाट्यकर्मी प्रयाग न्यौपानेले कृतिको प्रशंसा गर्नुभएको थियो ।

विमोचन समारोहमा डियर कल्याण साहित्य प्रतिष्ठान, भानु साझा पुस्तकालय, कोसी साहित्य कला परिषद्, प्रलेस मोरङ तथा सुनसरीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, साहित्यकार, नाट्यकर्मी तथा राजनीतिकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कृतिमा १० ओटा बालएकाङ्कीहरू समावेश छन् ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार जेबी थुलुङले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments