Friday, October 2, 2026
Homeराजनीतिकांग्रेसको अधिवेशनमा मोरङ–६ को झडपमा डा. शेखर कोइरालाको संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति

कांग्रेसको अधिवेशनमा मोरङ–६ को झडपमा डा. शेखर कोइरालाको संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति

विराटचोकः असोज १४ गते बुधबार नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा भएको झडप र तोडफोडको घटनामा पार्टीका शीर्ष नेता डा. शेखर कोइरालाको कुनै पनि किसिमको संलग्नता नरहेको कोइरालाको सचिवालयले स्पष्ट पारेको छ ।

डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिवेशनस्थलको घटनासँग नेता कोइरालाको नाम जोडेर भ्रामक दुष्प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्ला संघीय क्षेत्र नं–६ को अधिवेशनस्थलमा भएको घटना र उक्त घटनासँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नामसमेत जोडेर गरिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । डा. शेखर कोइराला पार्टीको एकता महाधिवेशनका पक्षमा रहनुभएको र महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घटनामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछु,’ थपलियाले लेखेका छन् ।

सचिवालयले घटनामा परी घाइते भएका पार्टीका नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा आयोजित मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा असोज १४ गते कार्यकर्ताबीच झडप, तोडफोड र कुटपिट भएको थियो । सो घटनामा क्षेत्रीय सभापति देवराज तामाङको संलग्नता रहेको अधिवेशनकी प्रमुख अतिथि एवं पार्टीकी सहमहामन्त्री डा. डिला (डिना) संग्रौलाले सञ्चारमाध्यमसँग कुरा गर्दै बताउनुभएको थियो ।

सो आरोपपछि डा. कोइरालाको सचिवालयले औपचारिक रूपमै खण्डन गर्दै घटनामा उनको कुनै भूमिका नरहेको र अनावश्यक रूपमा नाम मुछिएको प्रस्ट्याएको हो । देवराज तामाङ डा. शेखर कोइराला निकट कार्यकर्ता हुन् ।

सो घटनामा महासमिति सदस्य तथा पूर्वसांसद चुमनारायण तबदार, नेता चेतराज रेग्मी र उम्मेदवार सौरभ पोखरेलसहितका नेता कार्यकर्ता घाइते भएका थिए । घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

क्षेत्रीय सभापति तामाङले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

घटनापछि नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी पाएका तामाङको अधिकार जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएको छ ।

आज बुढीगंगास्थित राजवंशी सामुदायिक भवनमा पार्टीको क्षेत्रीय अधिवेशन हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments