लेटाङः वनजङ्गलमा पाइने पुत्का मौरीको संरक्षण र प्रवर्द्धनमा मोरङको लेटाङ नगरपालिका लाग्ने भएको छ ।
औषधीय गुण भएको मह उत्पादन गर्ने सो मौरीका संरक्षण र विकास गर्ने उद्देश्यले लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र लावतीले लेटाङ– ७ चाम्लिङ टोलमा पुगेर पुत्का मौरी पालन गर्दै आएका स्थानीयवासीसँग जानकारी लिएका छन् ।
सो मौरीको मह प्रतिकेजी ७ हजार रुपैयाँमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । अन्य जातका मौरीभन्दा निकै सानो आकारको यो मौरी समुद्र सतहदेखि एक हजार मिटरको उचाइमा पाइने बताइन्छ ।
अन्य मौरीको भन्दा पातलो र केही अमिलो स्वादको पुत्का मौरीको मह क्यान्सरका साथै आँखासम्बन्धी रोग तथा घाउ, दम खोकी आदिमा अचुक औषधि हुने विश्वास गरिन्छ ।