Thursday, September 17, 2026
Homeअर्थभदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज घोषणा हुने

विराटचोकः चालु आर्थिक वर्षदेखि सरकारले प्रारम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा आज घोषणा गरिने तयारी सरकारले गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भदौ १६ गते हुने कार्यक्रम पनि स्थगित भएको थियो ।

करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।

पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ ।

यस्तै, भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ ।

त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने छ । भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना १० लाख रुपैयाँ राशिको बम्पर विजेता छनोट हुनेछन् ।

पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ ।

विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ। नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्छ ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले पुरस्कारमा सहभागी हुन १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन लिइसकेको हुनुपर्छ ।

भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेर बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्ममा आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्छ । दुवै पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । हरेक दिनका एक लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर एक लाख र १० लाखका विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कार्यविधि छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments