विराटनगरः रातिको समयमा हुने गतिविधि नियन्त्रण तथा रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र जवाफदेही बनाउन मोरङ प्रशासनले कडा मापदण्ड लागू गरेको छ ।
नयाँ व्यवस्थाअनुसार विराटनगरसहित जिल्लाका मुख्य सहरमा सञ्चालित होटल, रेस्टुरेन्ट, क्लब, डिस्को तथा लाउन्ज बारमा राति १० बजेपछि नयाँ ग्राहकले प्रवेश पाउने छैनन् । प्रवेश गरिसकेका ग्राहकसमेत साढे १० बजेसम्म बाहिरिसक्नुपर्नेछ ।
रात्रिकालीन व्यवसायका नाममा अनियमितता, विकृति र विसंगति बढेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय छलफलमार्फत यस्तो व्यवस्था लागू गरेको हो । व्यवसाय सञ्चालनको स्वतन्त्रतासँगै सार्वजनिक सुरक्षा, सामाजिक मर्यादा, उपभोक्ता हित र श्रमिकको अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले मापदण्ड ल्याइएको प्रशासनले जनाएको छ ।
जिल्लाभरका रात्रिकालीन व्यवसायलाई समेट्ने एकीकृत मापदण्ड तयार नहुँदासम्म तत्कालका लागि नयाँ व्यवस्था लागू रहने जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार राति १० बजे नै होटल, रेस्टुरेन्ट, क्लब तथा मनोरञ्जनस्थलका प्रवेशद्वार बन्द गर्नुपर्नेछ । त्यसपछि नयाँ ग्राहकलाई प्रवेश दिन पाइने छैन । प्रवेशद्वार बन्द भइसकेपछि भित्र रहेका ग्राहकलाई थप समय उपलब्ध गराउनसमेत पाइने छैन । साढे १० बजेसम्म सबै ग्राहकलाई परिसरबाट बाहिर निकालिसक्नुपर्ने प्रशासनको निर्देशन छ ।
अत्यधिक मदिरा सेवनका कारण आफैँ सवारीसाधन चलाउन नसक्ने अवस्थामा पुगेका ग्राहकलाई व्यवसाय सञ्चालकले सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनुपर्ने र आवश्यकताअनुसार ड्रप सेवा उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
व्यवसाय सञ्चालनको समयसीमा निर्धारण गर्नेमात्र नभई कर्मचारीको श्रम अधिकार र सुरक्षालाई पनि मापदण्डमा समेटेको छ । अब सञ्चालकले कर्मचारीलाई अनिवार्य रूपमा नियुक्तिपत्र दिनुपर्नेछ । न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा बैंकिङ प्रणालीमार्फत् भुक्तानी गर्नुपर्ने र जोखिम बिमाको व्यवस्था गर्नुपर्नेछ ।
राति काम गर्ने महिला कर्मचारीका लागि सुरक्षित यातायात र खानाको प्रबन्धसमेत अनिवार्य गर्नुपर्ने भएको छ ।
कार्यस्थलमा हुने यौन उत्पीडन, शोषण तथा अमर्यादित व्यवहार रोक्न व्यवसाय सञ्चालकले आचारसंहिता लागू गर्नुपर्नेछ । मनोरञ्जन व्यवसायमा बालबालिकाको प्रयोग र प्रवेशलाई पनि पूर्ण रूपमा निषेध गरिएको छ । १८ वर्षमुनिका बालबालिकालाई डान्सबार, क्लब, डिस्को, लाउन्ज बार तथा गीतगजल रेस्टुरेन्टमा काममा लगाउन वा ग्राहकका रूपमा प्रवेश गराउन पाइने छैन। उनीहरूलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।
व्यवसाय परिसरको प्रवेशद्वार र आसपासका क्षेत्रसमेत समेटिने गरी सीसीटिभी जडान गर्नुपर्ने र खिचिएका दृश्य कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।
मापदण्ड कार्यान्वयन भए–नभएको अनुगमन गर्न प्रशासनले छुट्टै संयन्त्र बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्लास्तरीय रात्रिकालीन व्यवसाय अनुगमन समितिमा प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय तह र होटल व्यवसायी संघका प्रतिनिधि सहभागी छन् ।
समितिले आकस्मिक अनुगमन गरी व्यवसायीले मापदण्ड पालना गरे–नगरेको जाँच गर्नेछ । नियम उल्लंघन गर्ने व्यवसायीमाथि उपभोक्ता संरक्षण ऐन, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनलगायत प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ ।





