विराटचोकः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापा, परीक्षा नियन्त्रण कार्यालय बल्खुका नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेल तथा त्रिवि, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक प्रा. डा. गोविन्द गुरागाईँले पब्लिक तथा आङ्गिक क्याम्पसका सञ्चालक समिति, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूसँग सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा शुक्रबार छलफल तथा अन्तक्र्रिया गर्नुभएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूले सामुदायिक क्याम्पसका समस्याहरू देखाउँदै समाधानका उपायहरू सुझाउनु भएको थियो ।
मेची क्याम्पसका क्याम्पस प्रमुख, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख र नर्सिङ क्याम्पस विराटनगरका प्रमुखले आङ्गिक क्याम्पसका समस्याहरू प्रस्तुत गर्दै समाधानका उपायहरू सुझाउनुभएको थियो ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँले सामुदायिक क्याम्पसहरूलाई निश्चित मापदण्डका आधारमा आङ्गिक क्याम्पस बनाउन त्रिविले सोचमा परिवर्तन गर्नुपर्ने र यसका लागि स्थानीय तहले त्रिविलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
छलफल कार्यक्रममा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक पौडेलले परीक्षालाई नियमित र मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उपकुलपति थापाले त्रिविमा भएका विकृति विसङ्गतिहरू हटाएर क्याम्पसमैत्री वातावरण बनाउन आफूले सहयोग पुर्याउने कार्यका लागि प्रतिबद्धता जाहेर गर्नुभयो ।
छलफल कार्यक्रममा कोशी प्रदेशका सामुदायिक क्याम्पस र आङ्गिक क्याम्पसका प्रतिनिधिको प्रतिनिधित्व रहेको थियो ।





