Saturday, September 5, 2026

मानवता

गिताप्रसाद श्रेष्ठ ‘रवि’

उद्धार टोली आइपुगेको छ
घाँटीसम्म दलदलमा डुबेको मान्छे

ऊ भन्दै थियो–
भो मलाई नतान्नुस्
पुरिएका मेरा छोरीहरुले
मेरा हात समाइरहेका छन्
यिनलाई छाडेर म मात्र कसरी जाऊँ !
सुन्दा पनि मुटु चिरिने
हृदयविदारक त्यो क्षण
उफ् ….कति दर्दनाक छ !
सयौं बस्तीहरु क्षतविक्षत छन्
हजारौं घरका लाखौं सपना
गेंगर ढुंगासहित तेज बाढीको चपेटा
बगरभरि यत्रतत्र लासको बिस्कुनमा परिणत भएको छ
कहिल्यै नउठ्ने गरी
मृत्युले अंगालो फिजाउँदा
संयोगले छुटेकाहरु
झिनो आशा लिएर
बगरको भग्नावशेषमा
आफ्ना प्रियजन खोजिरहेको दृश्यले हृदय भत्काउँछ ।
यता सञ्जालका छरपष्ट चित्र बोलिरहेछ–
अकल्पनीय विपत्तीको पीडामा
रोइरहेको देशका नागरिक
लासको गला र कान चियाइरहेछ
गहनाको जोहो गर्नुछ उसलाई
तैरिरहेको लासप्रति
समवेदनाको अंश कहीँ कतै महसुस छैन
ग्यासको सिलिण्डर तान्न तँछाडमछाड छ
प्रकृतिको भयानक प्रकोप
सारा देशको आकाश शोकमा डुबेको बेला
रक्तमुछेल घायल माछा
काँधमा बोकेर दौडिन्छ
लाग्छ कुनै मिथकको दैत्य हो ऊ
विवेक कुन चरीको नाम हो
भुलेर मदमस्त आज
उसले मान्छेको पहिचान गुमाएको छ
बल्लबल्ल मिलेको मौका
पीडितको पीडा जोख्दै
क्युआरको व्यापार चलाइरहेछ ।
बिडम्वना,
त्यो कोमल हृदयबाट
करुणा, प्रेम र समवेदना कसरी गुम हँुदैछ !!
विवेक अन्धो हुँदा
लोभ, लालच र स्वार्थ कसरी हावी हुँदैछ !!
खै किन हो
बगिरहेको आँखामा पनि
अभिनय लुकेजस्तो लाग्छ
विश्वासको जग धर्मराएको छ
हो, आज मान्छेमा मानवता हराएको छ ।
त्यसैले,
ओ मानवता
तँ यति निष्ठुरी पनि नभै दे
तँ बिनाको मान्छे मान्छे जस्तो भएन
तँ बिना मान्छेलाई
मान्छे भन्न पटक्कै सुहाएन
अरु त अरु के भनौं
यी आँखाले
मान्छेले मान्छेलाई खाएको मात्र देख्न बाँकी छ
अब एउटा कृपा गरी दे
मान्छेको हृदयमा छिट्टै फर्कि दे
दया, प्रेम र करुणा लिएर आइज
समभाव र समवेदना लिएर आइज
मान्छेमा मनवता भरि दे
मान्छेलाई मान्छे जस्तो बन्न दे ।

–सुन्दरहरैंचा–६, मोरङ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments