त्रिशुलीः भीषण बाढी आउँदै छ भनेर बेलैमा खबर गर्न नसकेकाले ठूलो धनजनको क्षति भइरहेको चर्चा भइरहेका बेला सरकारले रसुवाको टिमुरेमा भिस्याट क्यामरा जडान गरेको छ ।
बाढी पूर्वानुमान गर्न राखिएका जलमापन केन्द्रहरूले बाढीको सूचना टिप्न नपाउँदै बगाएपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै खबर गर्न नसकिएपछि पुनः त्यस्ता विपद्मा सूचना दिन सहज होस् भनेर क्यामरा जडान भएको हो ।
भिस्याट क्यामरा जडान गरेपछि भोटेकोशीको नियमित निगरानी सहज भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार नै टिमुरेमा भिस्याट क्यामरा जडान गरेर भोटेकोशीको निगरानी शुरु गरेको हो ।
भोटेकोशीमा बाढी आए क्यामराले लिएका तस्बिरबाट थाहा हुने र तत्कालै मोबाइलमार्फत तल्लो तटका बासिन्दालाई खबर गर्न सकिने बताइएको छ ।





