विराटचोकः कोशी प्रदेशका मुख्यमन्त्रीको सेवासुविधा संघीय मन्त्रीको भन्दा धेरै रहेको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा ९ मन्त्रालय छन् । कोशीमा हाल चार सदस्यीय मन्त्रिपरिषद छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा अन्य तीन मन्त्री छन् । कोशीको मुख्यमन्त्रीको पारिश्रमिक ७१ हजार ९४५ रुपैयाँ रहेको छ भने संघीय मन्त्रीको तलब ७० हजार ७३० रुपैयाँ रहेको छ ।
यस्तो छ कोशीका मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ अनुसार कोशी प्रदेशका मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७१ हजार ९४५ रुपैयाँ छ । यस्तै कोशीका मन्त्रीको पारिश्रमिक मासिक ६१ हजार ३६० रुपैयाँ छ ।
अन्य सुविधा
कोशीका मुख्यमन्त्रीका लागि आवास सुविधाका साथै आवश्यक फर्निचरका साथै दुई वटा सवारी साधनको व्यवस्था छ ।
यस्तै सवारी इन्धनबापत पेट्रोल मासिक २५० लिटर, मोबिल त्रैमासिक १५ लिटर, सञ्चार सुविधा मासिक ४ हजार, धारा तथा बिजुलीको बिलअनुसार भुक्तानीको सुविधा छ । मुख्यमन्त्री दैनिक भ्रमणमा जाँदा स्वदेशमा प्रतिदिन ३ हजार रुपैयाँ र विदेश भ्रमणमा प्रतिदिन २२५ अमेरिकी डलर तथा १० लाखको यात्रा बीमाको व्यवस्था छ ।
मन्त्रीहरूको हकमा आवास उपलब्ध नभएसम्म मासिक २९ हजार घरभाडा, एउटा गाडी, मासिक २ सय लिटर पेट्रोल, मोबिल त्रैमासिक १० लिटरको व्यवस्था छ । सञ्चार सुविधा मासिक ३ हजार ५ सय, धारा तथा बिजुली बापत मासिक २ हजार ५ सयको व्यवस्था पनि छ ।
मन्त्रीहरूलाई दैनिक भ्रमणभत्ता अन्तर्गत स्वदेशमा २ हजार ५ सय रुपैयाँ तथा विदेशका लागि २ सय अमेरिकी डलर र १० लाख रुपैयाँको यात्रा बीमाको व्यवस्था छ ।
राज्यमन्त्रीलाई तलब सुविधा मासिक ५७ हजार ८२०, आवासका लागि २४ हजार घरभाडा, गाडी एउटा, मासिक १५० लिटर पेट्रोल, मोबिल त्रैमासिक ७ लिटर, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, धारा तथा बिजुलीका लागि मासिक २ हजारको व्यवस्था छ ।
राज्यमन्त्रीलाई दैनिक भ्रमण अन्तर्गत स्वदेशका लागि २ हजार रुपैयाँ र विदेश भ्रमणमा गए दैनिक १७५ अमेरिकी डलर तथा १० लाख रुपैयाँको यात्रा बीमाको व्यवस्था छ ।
सहायक मन्त्रीका लागि तलब तथा पारिश्रमिक मासिक ५५ हजार ४६० रुपैयाँ निर्धारण गरिएको छ । अन्य सेवा सुविधामा राज्यमन्त्री सरहकै व्यवस्था गरिएको छ ।
सचिवालयतर्फ
कोशीका मुख्यमन्त्रीले प्रमुख स्वकीय सचिव १ जना (राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरह), स्वकीय सचिव १ जना (राजपत्र अनङ्कित तृतीय श्रेणी वा सो सरह), सचिवालय १ जना (राजपत्र अनङ्कित श्रेणी वा सो सरह), राजनीतिक सल्लाहकार १ जना (राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरह), जनसम्पर्क सल्लाहकार (राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरह), आर्थिक सल्लाहकार (राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरह), प्रेस सल्लाहकार (राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरह) १–१ जना राख्ने व्यवस्था छ ।
सूचना प्रविधिविज्ञ १ जना (राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरह), सूचना प्रविधि १ जना (राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरह), हलुका सवारी चालक २ जना, आवास सहयोगी २ जना, कार्यालय सहयोगी २ जना र अतिथि सत्कारका लागि मासिक १० हजार रुपैयाँ दिइने व्यवस्था छ ।
यस्तै मन्त्रीहरूका लागि भने प्रमुख स्वकीय सचिव १ जना (राजपत्र अनङ्कित तृतीय श्रेणी वा सो सरह), स्वकीय सचिव १ जना (राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरह), सचिवालयमा १ जना (राजपत्र अनङ्कित तृतीय श्रेणी वा सो सरह) रहनेछन् ।
मन्त्रीका लागि सूचना प्रविधिमा १ जना (राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरह), हलुका सवारी चालक १ जना, आवास सहयोगी १ जना, कार्यालय सहयोगी १ जना र अतिथि सत्कारका लागि मासिक ७ हजार रुपैयाँ दिइने उल्लेख छ ।
राज्यमन्त्री र सहायक मन्त्रीका लागि भने स्वकीय सचिव १ जना (राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरह), सचिवालयमा १ जना (राजपत्र अनङ्कित तृतीय श्रेणी वा सो सरह) रहनेछन् भने हलुका सवारी चालक १ जना, आवास सहयोगी १ जना, कार्यालय सहयोगी १ जना र अतिथि सत्कारका लागि मासिक राज्यमन्त्रीका लागि ५ हजार रुपैयाँ र सहायक मन्त्रीका लागि ३ हजार रुपैयाँ दिइने उल्लेख छ ।
प्रधानमन्त्रीको मासिक सेवासुविधा झण्डै १ लाख रुपैयाँ, यस्तो छ मन्त्रीहरुको पारिश्रमिकको व्यवस्था