काठमाडौंः नेपालका प्रधानमन्त्रीले कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । प्रधानमन्त्रीको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । राजधानी बाहिर जाँदा प्रधानमन्त्रीले दैनिक भ्रमण भत्ताबापत ३ हजार रुपैयाँ पाउँछन् ।
प्रधानमन्त्रीले पाउने पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार अर्थ मन्त्रालय बजेट महाशाखाबाट २०७७ साल माघ २२ गते स्वीकृत भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले लिने पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०४९ ले प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक र सुविधासम्बन्धी कानुनी व्यवस्था गरेको थियो । त्यसयताका सरकारहरूले उक्त ऐन संशोधन गर्दै सेवा सुविधा बढाउँदै आएका छन् ।
२०५० सालमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक (तलब) ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार र राज्यमन्त्रीको ६ हजार ७ सय तोकिएको थियो । त्यसबाहेक अन्य सेवा सुविधा पनि सोही अनुपातमा तोकिएको थियो ।
कार्य सञ्चालन निर्देशिका २०७७ आठौँ संस्करणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको पारिश्रमिकको व्यवस्था प्रकाशित छ । जसमा उपप्रधानमन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द, महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६४० हुन आउँछ । त्यसबाहेक उपप्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल, सहसचिव सो सरहका एकजना सह स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म गरी आठ जना कर्मचारीको पारिश्रमिक पनि सरकारले नै बेहोर्ने व्यवस्था छ । त्यसैगरी मन्त्रीहरूको हकमा पनि यही क्रममा मासिक पारिश्रमिक वृद्धि भएको छ । हाल दुई जना उपप्रधानमन्त्री छन् ।
हालको व्यवस्थाअनुसार मन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द तथा अतिथि सत्कार ३ हजार ५००, महङ्गी भत्ता २ हजार , सञ्चार सुविधा ३ हजार गरी जम्मा ७९ हजार २३० पाउँछन् । त्यसमा मासिक २०७ लिटर पेट्रोल र ७ जना कर्मचारी उनीहरूको सुविधाका लागि सरकारले उपलब्ध गराउँछ । हाल संघीय सरकारमा १९ जना मन्त्री छन् ।
राज्यमन्त्रीले मासिक ६७ हजार ३० रुपैयाँ पारिश्रमिक पाउँदा मसलन्द ३ हजार, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ३ हजार गरी जम्मा जम्मा ७५ हजार ३० रुपैयाँ पाउँछन् । त्यसबाहेक राज्यमन्त्रीहरूले मासिक २०० लिटर पेट्रोल, मोबिल (४० लि. वार्षिक) र ७ जना कर्मचारी पाउँछन् ।
सहायक मन्त्रीका लागि मासिक पारिश्रमिक ६५ हजार ५३०, मसलन्द २ हजार ५ सय, महँगी भत्ता २ हजार, सञ्चार सुविधाबापत ३ हजार पाउने व्यवस्था छ । यो सबै जोड्दा उनीहरूको मासिक ७३ हजार ३० रुपैयाँ हुन आउँछ । त्यसमा मासिक १८० लिटर पेट्रोल, (मोबिल २० लि. वार्षिक) र ७ जना कर्मचारीको व्यवस्था पनि रहेको छ । सहायक मन्त्रीको व्यवस्था भए पनि हालसम्म सहायक मन्त्री भने नियुक्त भएका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सेवा सुविधा २०७६ साल साउन १ गतेबाट लागू भएको हो । जसमा नियमअनुसार कर कट्टी गरेर उनीहरूको खातामा जम्मा हुने गरेको छ ।
यस्तो छ मन्त्रीहरुको सेवासुविधा
१.प्रधानमन्त्री
मासिक पारिश्रमिक ७७,२८०
मसलन्द १०,०००
महँगी भत्ता २०००
सञ्चार सुविधा ५०००
जम्मा ः ९४,२८०
३०६ लिटर पेट्रोल, मोबिल (४० लिटर वार्षिक)
स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म ३४ जना कर्मचारी
२.उपप्रधानमन्त्री
मासिक पारिश्रमिक ७५,६४०
मसलन्द ४,०००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ः ८४६४०
३०६ लिटर पेट्रोल,
मोबिल (४० लिटर वार्षिक)
कर्मचारी ८ जना
३.मन्त्री
मासिक पारिश्रमिक ७०,७३०
मसलन्द तथा अतिथि सत्कार ३५००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ः ७९२३०
२०७ लिटर पेट्रोल,
कर्मचारी ७ जना
४.राज्यमन्त्री
मासिक पारिश्रमिक ६७०३०
मसलन्द ३,०००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ः ७५,०३०
२०० लि पेट्रोल, मोबिल (४० लिटर वार्षिक)
कर्मचारी ७ जना
५.सहायकमन्त्री
मासिक पारिश्रमिक ६५,५३०
मसलन्द २५००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ः ७३,०३०
१८० लि पेट्रोल, (मोबिल २० लिटर वार्षिक)
कर्मचारी ७ जना
प्रधानमन्त्री र मन्त्रीहरूलाई आवासको व्यवस्था पनि सरकारले गर्ने गरेको छ ।