भरतपुरः भदौ १० गते आएको बाढीले बगाएर ज्यान गुमाएका व्यक्तिको शव भरतपुरस्थित देवघाट क्षेत्रमा जङ्गलमा व्यवस्थापन गरिएको छ । शव धेरै हुनुका साथै अधिकांश सग्लो अवस्थामा नरहेको र शवगृहमा राख्ने स्थान पनि नभएपछि भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी शव व्यवस्थापन गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू राखिएको छ । निम्न प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम भइरहेको बताइएको छ ।
क. डीएनए सङ्कलन र प्रोफाइलिङः खाडलमा राख्नुअघि प्रत्येक शवको अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिन्छ ।
ख. १.५ मिटर गहिरो खाडल र ४० सेन्टिमिटरको दूरीः जङ्गलका सालका रूखहरूलाई असर नपर्ने गरी डेढ मिटर गहिरो खाडल खनिएको छ । एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी राखेर शवहरूलाई लहरै राखिएको छ ।
ग. प्लास्टिक ब्याग र माटोको प्रयोगः शव वा शवका टुक्राहरूलाई विशेष प्रकारको ब्यागमा प्याक गरिन्छ । ब्यागभित्रै शवको पहिचान खुल्ने सङ्केत नम्बर राखिन्छ । त्यसपछि ब्यागलाई सिधै माटोमाथि राखेर माटोले नै पुरिन्छ ।
घ. कंक्रिटको स्ट्यान्ड र सङ्केत नम्बरः शव पुरिसकेपछि भविष्यमा खन्न सजिलो होस् भनेर शवको ठीक माथि नभई अलिकति छेउमा सानो कंक्रिटको ढलान गरी एउटा स्ट्यान्ड बनाइन्छ । सो स्ट्यान्डमा जमिनमुनि शवसँगै राखिएको सङ्केत नम्बर लेखिन्छ । यसले गर्दा कुन नम्बरको शव कुन ठाउँमा छ भनेर बाहिरैबाट प्रष्ट हुन्छ ।
ङ. जीपीएस म्यापिङ र मुचुल्काः सम्पूर्ण काम सकिएपछि संयुक्त मुचुल्का तयार पारिन्छ । व्यवस्थापन गरिएको ठाउँको भिडियो तथा फोटो खिचिनुका साथै प्रत्येक शव गाडिएको स्थानको ठ्याक्कै लोकेसन थाहा पाउन जीपीएस कोअर्डिनेट वा नक्साङ्कन तयार गरी रेकर्ड सुरक्षित राखिन्छ ।
च. सुरक्षित घेराबन्दीः शव गाडिएको सम्पूर्ण क्षेत्रलाई सुरक्षित राख्न तारबार वा घेराबन्दी गरिने भएको छ । शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूले पीपीई, मास्क र पन्जाको प्रयोग गरी उच्च स्वास्थ्य सतर्कता अपनाएका छन् ।
बाढीले बगाएर लगेका र पहिचान हुन नसकेका शवको व्यवस्थापन देवघाटको जङ्गलमा





