लेटाङः “जानौँ ! बुझौँ ! बचौँ !” भन्ने मुख्य नाराका साथ लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा जनचेतनामूलक पुस्तिका वितरण अभियान शुरु गरिएको छ ।
लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय लेटाङ र लेटाङ उद्योग वाणिज्य संघको सहकार्यमा तयार पारिएको १२ पृष्ठको सन्देशमूलक पुस्तिका नगरका विभिन्न स्थानमा वितरण गरिएको हो ।
सो पुस्तिका लेटाङ, वारङ्गी, जाँते तथा बुधबारे बजार क्षेत्रका व्यवसायी, युवा तथा अन्य नागरिकहरूलाई हस्तान्तरण गरिएको छ । आकर्षक र उपयोगी जानकारी समेटिएको सो पुस्तिकामा लागूऔषधका नकारात्मक असर, यसले निम्त्याउने जोखिम, रोकथामका उपाय, नेपालको कानुनी व्यवस्था तथा दुव्र्यसनबाट बच्न अपनाउन सकिने सकारात्मक विकल्पहरूबारे प्रस्ट पारिएको छ ।
यो अभियान पुस्तिका वितरणमा मात्र सीमित नभई भावी पुस्तालाई दुव्र्यसनको दलदलबाट जोगाउने, परिवारलाई सुरक्षित बनाउने र समाजलाई स्वस्थ एवम् सकारात्मक दिशातर्फ अघि बढाउने सामूहिक प्रयासको रूपमा सञ्चालन गरिएको जनाइएको छ ।





