भरतपुरः सरकारले भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुगेका तर पहिचान हुन नसकेका शवहरूको देवघाटस्थित जङ््गलमा व्यवस्थापन शुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्दै शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको हो ।
चितवनमा २३३ वटा शव सङ्कलन भएका छन् । तीमध्ये ६ वटा शव पहिचान भई आफन्तलाई बुझाइएको छ भने बाँकी शवहरू अत्यधिक सडेगलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो ।
शवलाई व्यवस्थित तरिकाले राखिने भएकाले पछि सनाखत भएमा त्यहाँबाट झिकेर आफन्तलाई जिम्मा लगाइने बताइएको छ ।





