काठमाडौंः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजस्व सङ्कलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषयसमेत भएको उल्लेख गरे । उनले गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी व्यवस्थित गरिएमा अर्थ मन्त्रालयले यसलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारे ।
‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गरिने विषय उल्लेख भइसकेको छ । विगतमा विकसित मुलुकहरूको दबाबमा यसलाई प्रतिबन्ध लगाइए पनि अहिले ती देशहरू नै खुलापनतर्फ गइरहेका छन् । त्यसैले नेपालले पनि यसलाई सकारात्मक रूपमा अगाडि बढाउनु आवश्यक छ’, सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘माननीयज्यूले औपचारिक रूपमै यो प्रश्न उठाउनुभएको छ, यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । गृह मन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी यसलाई प्राथमिकताका साथ अगाडि बढाउने आश्वासन दिन चाहन्छु ।’
यो गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय भएको जानकारी दिँदै मन्त्री वाग्लेले थप अध्ययन र कानुनी निक्र्याेलका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने उनले बताए । उनले औद्योगिक प्रवद्र्धन र सरकारी राजस्व वृद्धिको दृष्टिकोणबाट गाँजा खेतीलाई अर्थ मन्त्रालयले प्राथमिकता दिने उल्लेख गरे । यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पुर्याउन आफूले पहल गर्ने उनको भनाइ थियो ।
गाँजा खेतीलाई वैधता दिनुपर्छः सांसद निरन राई





