विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जामा सबैभन्दा धेरै १४० मिलिमिटर वर्षा भएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनलाई भने अति भारी वर्षा भनिन्छ । ५० देखि १०० मिलिमिटरलाई भारी वर्षा भनिन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशभर मनसुनी वायुको प्रभावका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले पूर्वानुमान महाशाखाको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी र मधेस प्रदेशमा भने ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।





