Wednesday, August 12, 2026
Homeफिचरआज स्पेनको सुनसान गाउँमा जाँदैछन् खग्रास सूर्यग्रहण हेर्न विश्वभरका मानिस

आज स्पेनको सुनसान गाउँमा जाँदैछन् खग्रास सूर्यग्रहण हेर्न विश्वभरका मानिस

विराटचोकः स्पेनको उत्तरी बुर्गोस प्रान्तस्थित सानो गाउँ अवेलेनोसा डे मुन्यो वर्षभरि प्रायः सुनसान रहन्छ । यहाँ अहिले मुस्किलले १० जना मात्रै स्थायी रूपमा बसोबास गर्छन् । गाउँमा न त नियमित खुल्ने भोजनालय छ, न त पर्यटकको चहलपहल । एउटा मदिरालय छ, जुन कहिल्यै खुल्दैन । एउटा मदिरा भण्डारण केन्द्र छ, जुन सञ्चालनमा छैन ।

गाउँको शान्त वातावरणमा लेभेन्डरका बोट वरिपरि गुन्जिने मौरीको आवाज, ढुंगाका छानामाथि उड्ने चराहरूको चिरबिराहट र कहिलेकाहीँ गुड्ने ट्याक्टरको आवाज नै जीवनको संकेत बन्छ । हप्तामा एकपटक आउने बेकरीको गाडीले केही स्थानीय बासिन्दालाई रोटी पुर्याउँदा मात्रै गाउँको निस्तब्धता केहीबेरका लागि भङ्ग हुन्छ । तर यही गाउँ सन् २०२६ को गर्मीयाममा विश्वभरका खगोलप्रेमीको आकर्षणको केन्द्र बन्ने तयारीमा छ ।

पूर्ण सूर्यग्रहण हेर्न विश्वभरबाट आगमन
१२ अगस्ट २०२६ मा एटलान्टिक महासागरमाथिबाट पूर्ण सूर्यग्रहण देखिनेछ । सन् १९९९ यता मुख्य युरोपबाट पूर्ण सूर्यग्रहण देखिने यो पहिलो अवसर हुनेछ । म्याड्रिडकी भौतिकविद् डा. मारिया तेरेसा लोपेज सान्चेजका अनुसार सन् १९१२ पछि मुख्य स्पेनबाट पूर्ण सूर्यग्रहण देखिने यो पहिलो घटना हो ।

पूर्ण सूर्यग्रहणको दृश्य सीमित भूभागबाट मात्रै देखिने र अवेलेनोसा डे मुन्यो त्यसै मार्गमा पर्ने गाउँ हो । सो गाउँ वरिपरिका सुनौलो गहुँबारी, पश्चिमतर्फ फैलिएका साना डाँडाहरू, अत्यन्त कम कृत्रिम प्रकाश र भीडभाडको अभावले यसलाई ग्रहण अवलोकनका लागि उपयुक्त स्थान बनाएको छ ।

ग्रहणको अर्को विशेषता यसको समय हो । सूर्य अस्ताउनुअघि ग्रहण लाग्ने भएकाले केही मिनेटभित्र दुईपटक साँझ परेझैँ देखिने दुर्लभ दृश्य देख्न सकिनेछ । यसलाई वैज्ञानिकहरूले ‘दोहोरो साँझ’ जस्तै अनुभवका रूपमा वर्णन गरेका छन् ।

त्यही रात पछि ‘पर्सिड्स’ उल्कावृष्टि पनि देखिने भएकाले दुई महत्वपूर्ण खगोलीय घटनाको दुर्लभ संगम सो दिन हुने बताइएको छ ।

सो गाउँमा सन् १९५० को दशकमा करिब २०० जना बस्थे । त्यतिबेला साना पसलहरू थिए र माछा बेच्ने व्यापारीहरू साइकल चढेर वरपरका गाउँ पुग्थे ।

पुस्तौँसम्म गाउँका मानिस सुख्खा जमिनमा गरिने खेती, तरकारी, अंगुरखेती र पशुपालनमा निर्भर थिए । पछि कृषिमा यान्त्रिकीकरण बढ्दै गयो र आसपास रोजगारीका अवसर कम भएपछि अधिकांश मानिस म्याड्रिड, बिलबाओ, बार्सिलोना लगायतका सहरतर्फ बसाइँ सरे ।

पूर्ण सूर्यग्रहणको अवसरमा भने पुराना बासिन्दा आफ्ना परिवारसहित गाउँ फर्किने तयारीमा छन् ।

ग्रहणको अवलोकनका लागि नजिकै रहेको ऐतिहासिक ड्युक अफ लेर्माको महलमा सञ्चालित ‘पाराडोर दे लेर्मा’ होटलमा सन् २०२२ मै सबै कोठा आरक्षण भइसकेका थिए । अधिकांश आवास पूर्ण रूपमा भरिएका छन् । ग्रहण अवलोकन गर्ने जानकारहरू चर्चित स्थानभन्दा उत्कृष्ट दृश्य देखिने स्थान खोजिरहेका थिए ।

बुर्गोस क्षेत्रभर ग्रहण अवलोकनका लागि विशेष स्थल र कार्यक्रमको तयारी भइरहेको छ । तर अवेलेनोसा डे मुन्योमा स्थानीय र आगन्तुकहरू गाउँमाथिको गुफातर्फ जानेछन् । पूर्ण सूर्यग्रहणका बेला सूर्य क्षितिजभन्दा करिब आठ डिग्री मात्र माथि हुने भएकाले पश्चिमतर्फ खुला दृश्य अत्यन्त आवश्यक हुन्छ । यही कारण ती गुफाहरू अवलोकनका लागि सबैभन्दा उपयुक्त स्थान मानिएका छन् ।

यी गुफाहरू केवल दृश्यावलोकनका लागि मात्र होइन, गाउँका बासिन्दाका लागि भावनात्मक रूपमा पनि विशेष महत्व राख्छन् । पुस्तौँदेखि उनीहरू यहीँ भेला भएर सूर्यास्त हेर्ने परम्परा रहँदै आएको छ ।

एउटा दुर्लभ संयोगका कारण वर्षभरि ओझेलमा पर्ने स्पेनको यो सानो गाउँ सो दिन विश्वकै केन्द्रबिन्दु बन्ने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments