विराटचोकः गत आर्थिक वर्ष २०८२\८३ मा देशभर साढे ५ लाख घरजग्गा लिखत पास भएका छन् । गत आर्थिक वर्षमा २०८२ मंसिरपछि घरजग्गा कारोबार बढ्दै गएकोमा असारमा सबैभन्दा बढी कारोबार भएको हो ।
२०८२ साउनमा ३१ हजार ६२१ वटा लिखत पास भएकोमा असारमा ७० हजार ४८० वटा लिखत पारित भएका छन् । असार महिनामा ११ अर्ब ९४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार सुनसरीको इनरुवा भूमि प्रशासन कार्यालयबाट सबैभन्दा बढी कारोबार भएको छ । देशभरका १३५ वटा कार्यालयको तथ्याङ्क हेर्दा बढी कारोबार हुने कार्यालयहरुमा झापाको भद्रपुर, मोरङको बेलबारी, धनुषाको जनकपुरधाम र सप्तरीको राजविराज कार्यालय रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढीमा सबैभन्दा बढी कारोबार देखिएको छ । लुम्बिनीमा दाङको तुलसीपुर र घोराही भूमि प्रशासन कार्यालयबाट बढी कारोबार भएको छ ।
महिनाअनुसारको कारोबार र कारोबार गर्ने कार्यालय
गत आर्थिक वर्षको साउन महिनामा ३१ हजार ६२१ वटा लिखत पास भएका थिए । यो महिना सबैभन्दा बढी लिखत पास हुने कार्यालयमा सुनसरीको इनरुवा, झापाको भद्रपुर, धनुषाको जनकपुरधाम, मोरङको बेलबारी र सप्तरीको राजविराज रहेका छन् ।
भदौमा २७ हजार ४९३ वटा लिखत पास हुँदा उच्च कारोबार गर्नेमा इनरुवा, जनकपुरधाम, भद्रपुर, राजविराज कार्यालय रहेका थिए ।
असोज महिनामा २३ हजार ३५३ वटा लिखत पास हुँदा बढी कारोबार हुने ५ कार्यालयमा इनरुवा, जनकपुरधाम, मोरङको बेलबारी, भद्रपुर र राजविराज रहेका छन् ।
कात्तिक महिनामा २८ हजार ३८३ लिखत पारित हुँदा बढी कारोबार हुने मालपोत कार्यालयमा इनरुवा, जनकपुरधाम, बेलबारी, भद्रपुर र राजविराज रहेका छन् ।
मंसिर महिनामा ५१ हजार ६३२ लिखत पास हुँदा बढी कारोबार गर्नेमा इनरुवा पहिलो नम्बरमा छ । दोस्रोमा कैलालीको धनगढी मालपोत कार्यालय रहेको छ । त्यसपछि जनकपुरधाम, भद्रपुर, कोहलपुर र तुलसीपुर रहेका छन् ।
पुस महिनामा ५१ हजार ८८८ वटा लिखत पास हुँदा सबैभन्दा बढी कारोबार हुनेमा बेलबारी, इनरुवा, भद्रपुर, जनकपुरधाम र धनगढी रहेका छन् ।
माघ महिनामा ५० हजार ८३७ वटा लिखत पारित हुँदा बढी कारोबार हुनेमा इनरुवा, भद्रपुर, बेलबारी, जनकपुरधाम, तुलसीपुर, राजविराज, धनगढी अग्रस्थानमा छन् ।
फागुनमा ३६ हजार ४७१ वटा लिखत पास हुँदा बढी कारोबार हुनेमा इनरुवा, जनकपुरधाम, भद्रपुर, बेलबारी, तुलसीपुर, भक्तपुर र राजविराज रहेका छन्।
चैत महिनामा ५५ हजार ५३१ वटा लिखत पास हुँदा बढी कारोबार हुनेमा बेलबारी, भद्रपुर, जनकपुरधाम, राजविराज, भक्तपुर, धनगढी सबैभन्दा अघि छन्।
बैशाख महिनामा ५८ हजार ८८६ वटा लिखत पास हुँदा इनरुवा नै सबैभन्दा बढी कारोबार हुने क्षेत्र रहेको छ । दोस्रोमा झापाको भद्रपुर, तेस्रोमा बेलबारी, चौथोमा जनकपुरधाम, पाँचौंमा धनगढी र छैटौंमा तुलसीपुर रहेका छन् ।
जेठ महिनामा ५४ हजार ७२४ वटा लिखत पास हुँदा सबैभन्दा बढी कारोबार हुनेमा इनरुवा नै रहेको छ । त्यसपछि जनकपुरधाम, भद्रपुर, बेलबारी, राजविराज र धनगढी कर्यालय रहेका छन् ।
आर्थिक वर्षको अन्तिम महिना असारमा सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । असारमा देशभर ७० हजार ४८० लिखत पास हुँदा इनरुवा कार्यालय अघि छ । दोस्रोमा भक्तपुर रहेको छ । तेस्रो स्थानमा जनकपुरधाम कार्यालय, चौथोमा बेलबारी, पाँचौंमा भद्रपुर र छैटौंमा ललितपुर जिल्लाको लगनखेल कार्यालय रहेको छ । सातौंमा काठमाडौंको कलंकी, आठौंमा दाङको घोराही, नवौंमा धनगढी र १० औं नम्बरमा तुलसीपुर दाङबाट बढी घरजग्गा पास भएका छन् ।





