इटहरीः दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत सञ्चारकर्मी रवीन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बीमाअन्तर्गत ३२ हजार २ सय ५५ रुपैयाँ प्रदान गरेको छ ।
नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी तथा बीमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गर्नुभएको हो ।
नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बीमा रकमले घाइते सञ्चारकर्मीलाई आर्थिक राहत पुग्नुका साथै उपचारमा सहयोग पुग्ने बताउनुभयो ।
फाउन्डेसनले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’ अन्तर्गत सुनसरीमा क्रियाशील सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्दै आएको छ ।
फाउन्डेसनका बीमा संयोजक देवराज पुरीका अनुसार चालु आर्थिक वर्षमा सुनसरीका ३१४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरिएको छ ।





